Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भोजपुरमा प्रकाशको लागि नयाँ घर बन्दै



भोजपुर । युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’ बाट चर्चामा आएका प्रकाश तामाङका लागि भोजपुरमा घर बनाउन सुरु भएको छ । प्रकाशको लागि घर बनाउन शिलान्यास गरिएसँगै निर्माण कार्य सुरु भएको छ ।

भोजपुर षडानन्द नगरपालिका वडा नम्वर १० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको हिजो शिलान्यास गरिएको थियो । पूर्वमन्त्री तथा संघीय सांसद सुदन किराँती र भूतपुर्व गोर्खा सैनिक संघ गेसोका अध्यक्ष कृष्ण कुमार राईसँगै प्रकाशका बुवा आमाले संयुक्तरुपमा नयाँ बन्न लागेको घरको शिलान्यास गर्नु भएको होे ।

गेसो अध्यक्ष राईले आफ्नो पुर्खयौली करिव १५ लाख मुल्य बरावरको सात रोपनी जग्गा प्रकाशलाई घर निर्माणका लागि दिनु भएको छ । सो जग्गामा माओबादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाईमा पाँच कोठे घर निर्माण गरिने छ । संघीय सांसद किरातीको संयोजकत्वमा बनेको टिमले पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाउँदै घर निर्माण गर्ने छ ।

लगभग ३३ वर्ष हराएका ४३ वर्षिय प्रकाश तामाङ (काले तामाङ) गत शनिवार भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर १० साङपाङको छाप्लेगाउँ स्थित बाबु आमामा बस्दै गरेको घर आई पुग्नु भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार