Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मृत फेला परेका दुई नाबालिकाकी आमा विर्तामोडमा फेला परिन



विराटनगर ।  मोरङको सुन्दरहरैँचमा हत्या भएको अवस्थामा फेला परेका दुई नाबालिकाकी आमालाई ५ दिन पछि नियन्त्रणमा लिएको छ । नाबालिकाकी आमा अस्मिता न्यौपानेलाई प्रहरीले आज बिहान झापाको बिर्तामोड क्षेत्रमा फेला पारेको हो । सडकमा उनी विक्षिप्त अवस्थामा प्रहरीले फेला पारेपछि उनलाई अस्पताल ल्याइएको छ । न्यौपानेलाई विराटनगरको कोशी अस्पतालमा ल्याइएको हो ।

शारीरिक हिसाबले कमजोर अवस्थामा भेटिएकी अस्मिताको उपचार सुरु गरिएको प्रहरीले जनाएको छ । आमा अस्मिताले सँगै लिएर गएको भनिएका २ नाबालिका छोरी गत शनिबार दिउँसो मृत अवस्थामा फेला परेका थिए । छोरीहरुको शव भेटिएपनि आमा भने फेला परेकी थिइनन् । छोरीहरुको शव भेटिएपछि उनको खोजी तीव्र पारिएको थियो ।

अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । अर्जुन र अस्मिताका नाबालिकाहरु छोरीहरु १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की स्थानीय नारायण न्यौपानेको केराघारीभित्र मृत फेला परेका थिए । अर्जुन पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घर बस्ने गरेका थिए । उनले दिदीको घर छेउमै नयाँ घर बनाइरहेका थिए ।

निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको र त्यसपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता शुक्रबार साँझदेखि बेपत्ता भएको जानकारी अर्जुनले प्रहरीलाई दिएका थिए । प्रहरीका अनुसार अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको अर्जुनले बताएका छन् । उनले प्रयोग गर्ने मोबाइल नाबालिकाको शवनजिकै फेला परेको थियो । अस्मिताले म्यासेज पठाएको हो कि हैन भनेर प्रहरीले यकिन गरिसकेको छैन । केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो ।

घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरेजस्तो देखिने प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्ट आइनसकेका कारण पुष्टि भइसकेको छैन । नाबालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो ।

प्रहरीका अनुसार अस्मिताको माइती संखुवासभाको मुढेशनिश्चरे हो । अर्जुनसँग २०७५ साल फागुन ९ गते प्रेम विवाह भएको प्रहरीले जनाएको छ ।

अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि भर्ना गरिएकाले घटनाका सम्बन्धमा धेरै कुरा खुल्न बाँकी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार