Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

कर्मचारीलाई अन्याय हुन नदिइने – मुख्यमन्त्रीकार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि कर्मचारीलाई अन्याय नहुने गरी सरकारले काम गर्ने बताए ।
बुधबार साँझ नेपाल निजामती कर्मचारी संगठनले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कर्मचारीको वृत्ति विकास र सन्तुलन कायम राख्ने गरी काम गर्ने बताएका हुन् । उनले भने, ‘संघीय निजामती ऐन नआएका कारण प्रदेशमा निजामती ऐनलाई पूर्णरुपमा कार्यान्वयन गर्न सकिएको छैन । जसले गर्दा हरेक पटक कर्मचारीका विषयमा समस्या आइरहेको छ ।’ मुख्यमन्त्री कार्कीले निजामती ऐन नआउँदा संघीयता कमजोर हुने खतरा रहेको औंल्याउँदै केन्द्रमा निजामती ऐन ल्याउनका लागि दबाब सिर्जना गर्नुपर्ने बताए ।
संघीयतालाई कमजोर बनाउने प्रयास भइरहेको चर्चा गर्दै उनले प्रदेशलाई बलियो बनाउन कर्मचारीको साथ र सहयोग आवश्यक भएको बताए । उनले भने ‘कर्मचारी स्थायी संरचना हुन्, तपाईंहरुले सहयोग गर्नुहोस्, यसलाई बलियो बनाएर लैजानुपर्छ ।’
प्रदेशका कर्मचारी सरुवा बढुवामा अन्याय हुन नदिने र कार्यालय प्रमुखको एक वर्ष र अन्य कर्मचारीको दुई वर्षमा सरुवा गर्ने नीति लिइने उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले केन्द्रमा निजामती ऐन नआउँदा प्रदेशमा फरक फरक ऐनहरु आएको र त्यसले फरक अवस्था सिर्जना गरेको बताए । कर्मचारीमैत्री र ट्रेड युनियन अधिकार सुनिश्चित हुनेगरी ऐन ल्याउने उनले आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार