विराटनगर । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ट्राफिक दुर्घटना न्यूनीकरण गर्न विराटनगरको वरगाछी चोकमा आजदेखि ट्राफिक लाइट सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयले २३ लाख रुपैयाँको लागतमा ल्याएको उक्त्त ट्राफिक लाइट मोरङ जिल्लामा पहिलो भएको र यसको स्थापनाबाट सवारी आवागममा सहज हुनुका साथै दुर्घटनामा न्यूनिकरण हुने मन्त्रालयका सहसचिव कमल थापाले बताउनु भयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री लिल्लावल्लभ अधिकारीले लाइटको उद्घाटन गर्दै सडक सुशासन कायम गर्ने कार्यमा यसले सहयोग पुग्ने बताउनु भयो ।
उहाँले जनघनत्व बढी हुने स्थानमा आगामी दिन थप लाइट र जेब्रा क्रस राख्ने स्थापना गर्ने जानकारी दिँदै केही दिनभित्र उद्यपुर जिल्लाको गाईघाटमा लाइट जडान गर्ने बताउनु भयो ।
मन्त्रालयले सोही अवसरमा सर्वसाधारणहरुलाई ट्राफिक सचेतना समेत गराएको थियो । वरगाछी चोकमा लाइटको व्यवस्था नहुंदा अत्याधिक सवारी दुर्घटना हुन्थ्यो ।