विराटनगर : विराटनगर महानगरपालिका वडा नम्बर १५ भ्टटीमोडमा प्रहरीको भ्यान दुर्घटना हुँदा दुई दर्जन बढी प्रहरी घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई रानी नाका पुर्याउन लैजाने क्रममा भ्यान दुर्घटना भएको हो ।
बा १ ग २५५९ नम्बरको भ्यान दुर्घटना हुँदा करिब २५ जना प्रहरी घाईते भएका छन् ।
घाइतेमध्ये ३ जनाको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनीहरुका शरीरका विभिन्न भागमा चोट लागेको छ ।
यस्तै १ जना नोवेल र २१ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई सामान्य चोट लागेको र अवस्था पनि सामान्य नै रहेको मोरङ प्रहरीले जनाएको छ ।
मोडमा गाडी अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।