विराटनगर : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न आजको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज शपथ लिएपछि सिंहरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहालीपछि भएको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि फ्ल्ड लाइट र आवश्यक संरचना बनाउने निर्णय गरिएको छ ।
उक्त कामका लागि तीन सय दिनको समयसीमा निर्धारण गरिएको छ । प्रधानमन्त्रीले यसबारे सामाजिक सञ्जालमा जानकारी दिँदै लेखेका छन्, ‘पहिलाे निर्णय क्रिकेट रंगशाला ।’
‘कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ’, ओलीले भनेका छन् ।
बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय पनि गरेको छ ।