Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी सरकाबाट बाहिरिने माओवादीको तयारी



मुख्यमन्त्री हिक्मत कार्की र माओवादी दलका नेता इन्द्र आङ्बो

विराटनगर : केन्द्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकार ढलेपनि कोशी प्रदेशमा भने माओवादीले एमाले नेतृत्वको सरकार छाडेको छैन् ।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्डको सरकार ढलेको हो । अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।

केन्द्रमा समीकरण फेरिएपनि कोशी प्रदेशमा भने अझै पनि माओवादी सरकारमा बसिरहेको छ । माओवादी सरकार छाड्ने सुरसार गरेको छैन् ।

कोशीमा बैशाख २७ गते नेकपा माओवादी केन्द्रको समर्थनमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए । कार्की नेतृत्वको सरकारमा माओवादीका तर्फबाट तीन मन्त्री र एकजना राज्यमन्त्री छन् ।

भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेती, स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, पर्यटन, वन तथाल वातावरण मन्त्री नारायण बुर्जा मगर र पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बन्दना झाँगड छन् । केन्द्रमा समीकरण बदलिए पनि उनीहरु अझै सरकारमा छन् ।

एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले माओवादी सरकारबाट बाहिरिन सक्ने बताए । यद्यपि आफूहरु निस्केर गइहाल भन्ने पक्षमा नरहेको उनले बताए ।

‘केन्द्रको समीकरण फेरिएको छ । अब कोशी प्रदेशमा पनि त्यही अनुसार राजनीतिक कोर्स अगाडी बढ्छ,’ भण्डारी भन्छन्, ‘सायद माओवादीले सरकार छाड्छ होला । तर, हामी निस्केर गइहाल भन्दैनौँ । भन्न पनि मिल्दैन ।’

यता माओवादी केन्द्रका प्रदेश सांसद दुर्गा चापागाईं भने चाडैँ सरकारबाट बाहिरिने बताउँछन् । उने भने, ‘केन्द्रकै अनुसार प्रदेश पनि अघि बढ्छ । केन्द्रमा नयाँ प्रधानमन्त्री बन्ने बित्तिकै हामी राजीनामा दिन्छौँ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार