विराटनगर : एसइई परीक्षाको नतिजा सार्वजनिक भएको करिब एक सातापछि मोरङको रतुवामाई नगरपालिकाले पालिकाभित्रका विद्यालयहरूको सामूहिक नतिजा सार्वजनिक गरेको छ।
नगरपालिकाको शिक्षा शाखाले बिहीबार एसईई परीक्षामा सहभागी भएका पालिकाका विद्यालयहरूको नतिजा सार्वजनिक गरेको हो।
नगरपालिकाबाट एसईईमा १३ सामुदायिक विद्यालय सहित ९ संस्थागत विद्यालयका ९८६ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।
तीमध्ये ४३० जना मात्र उत्तीर्ण भएको शिक्षा शाखा अधिकृत सुरेश निरौलाले जानकारी दिए। उनका अनुसार ५५६ जना विद्यार्थीले ननग्रेड ल्याएका छन्। प्रतिशतका हिसाबले ४३.६१ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन्।
निरौलाका अनुसार दुई संस्थागत विद्यालयले मात्र शतप्रतिशत नतिजा हासिल गरेका छन्। सयपत्री इङ्लिस स्कुलबाट सहभागी १५ विद्यार्थीमध्ये १५ जना नै उत्तीर्ण भएका छन्। यस्तै अन्नपूर्ण इङ्लिस स्कुलबाट सहभागी २५ मध्ये २५ जना नै उत्तीर्ण भएका छन्।
यता सामुदायिक विद्यालयको नतिजा भने सन्तोषजनक छैन। सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी भएका विद्यार्थीहरू उत्तीर्ण हुनेको सङ्ख्या निकै कम छ।
सामुदायिक विद्यालयतर्फ जनता माध्यमिक विद्यालय ठकठकियाले सन्तोषजनक नतिजा ल्याएको छ। यस विद्यालयबाट सहभागी २७ विद्यार्थीमध्ये १९ जना उत्तीर्ण भएका छन्। प्रतिशतको हिसाबले यो ७०.३७ प्रतिशत हो ।
जनता माविपछि महेन्द्र मावि रतुवामाई-१० बाट ९२ मध्ये ६६ जना उत्तीर्ण भएका छन् भने अन्य विद्यालयको नतिजा सन्तोषजनक छैन् । सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको नतिजा भने सन्तोषजनक छ।
हेर्नुस् विद्यालयहरुको नतिजा :

*नोट: नगरपालिकाले सार्वजनिक गरेको तथ्यांकमा महेन्द्र माविको उत्तीर्ण संख्या ६६ हुनुपर्नेमा ५६ भएकाले सच्याइएको छ – सम्पादक*