विराटनगर : नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले राष्ट्रिय शक्तिको निर्माणसहित राष्ट्रिय हितको रक्षा गर्न एमाले र कांग्रेसबीच सहकार्य भएको बताएका छन् ।
दुई ठूला दलबीच भएको सहकार्यले देशमा सुशासन र सामाजिक न्याय कायम गर्ने पोखरेलको विश्वास छ। सामाजिक सञ्जाल मार्फत पोखरेलले यो सहकार्यले नागरिकमा आशाको जागरण भर्ने बताएका छन्।
विकास निर्माणको अभियानलाई तीव्रता दिँदै त्यसबाट व्यवहारिक उत्पादन गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न नयाँ बन्ने सहयोग गर्ने पोखरेलको दाबी छ।
त्यस्तै राजनीतिक स्थिरता कायम गर्दै नागरिकहरूमा डेलिभरी दिनुपर्ने आजको आवश्यकता भएको पोखरेलले बताए । उनले देशका सबै वडा कार्यालयहरुलाई एकीकृत सेवा केन्द्रमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई सुदृढ गरी समय अनुकूल संविधानको आवधिक समीक्षा र विकास गर्न नयाँ सरकारले काम गर्ने उनले बताए ।