विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ ।बुधबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्ने निर्णय गरेको हो ।
ढकालले पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै पदबाट निलम्बन गरिएको रास्वपा उपसभापति डिपी अर्यालले जानकारी दिए । उनलाई सात दिनका लागि पदबाट निलम्बन गरिएको हो ।
बुधबार नै ढकाललाई निलम्बनको पत्र दिइएको छ । उक्त पत्रमा उपसभापति अर्यालको हस्ताक्षर छ ।
रास्वपा केन्द्रीय समितिले ढकालले गरेका कार्य पार्टी अनुशासनविपरीत, अमर्यादित, अशोभनीय, अभद्र र अनुशासनहीन भएकााले पार्टीको छविमा प्रतिकूल प्रभाव पर्ने निष्कर्ष निकाल्दै कारबाही गरेकोमा हो ।
ढकाल निलम्बनमा परेसँगै केन्द्रीय समितिको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यबाहक महामन्त्री र मनीष झालाई प्रवक्ता तोकेको छ ।
यता, ढकालले भने आफूले स्पष्टीकरण समेत दिन नपाएको भन्दै पार्टीको पद्धतिमाथि प्रश्न उठाएका छन् ।