विराटनगर : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गरिदिन आग्रह गरेको छ ।
बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउबाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई मार्ग प्रशस्त गरी नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेको हो।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यथार्थ राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्दै राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको जानकारी दिए।
केन्द्र सरकार परिवर्तन हुँदा प्रदेशमा भइरहेको अस्थिरतालाई रोक्न एमाले र कांग्रेसबीच सहकार्य भएको लेखकले बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप बलियो बनाउनका लागि संविधान संशोधन गर्न आवश्यक रहेको समेत बताए।
यस्तै बैठकले नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार गठनका लागि भएको सहमति अनुमोदन गरेको छ। उक्त सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।