विराटनगर : नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठन गरेर जाने सहमति भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन्।
एमाले स्रोतका अनुसार आज दिउँसोसम्म एमालेका सबै मन्त्रीले राजीनामा दिने तयारी गरेका छन्।
एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले मन्त्रीहरूले राजीनामा बुझाउने तयारी थालेको जानकारी दिए। उनले राजीनामा दिन बिलम्ब नगर्ने जानकारी दिए।
प्रचण्ड नेतृत्वको सरकारमा एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा ८ जना मन्त्री सहभागी छन्।
काङ्ग्रेस र एमालेबीच संविधान संशोधनदेखि विभिन्न विषयमा सहमति गरेर सरकार बनाउने तयारी भएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन्।
सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच केपी शर्मा ओलीको नेतृत्वमा सर्वदलीय सरकार बनाउने सहमति भएको छ। उक्त सहमतिका अनुसार एमालेले अर्थमन्त्रीसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृह मन्त्रालय सहित १० वटा मन्त्रालयको नेतृत्व गर्नेछ।
यसका लागि अहिले एमालेले सचिवालय बैठक र कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ।