विराटनगर : प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति मध्यरातमा भएको छ।
संविधान संशोधनसहितका एजेन्डामा समझदारी गरेर दुई दलले नयाँ सरकार बनाउने सहमति गरेका हुन् । सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनेछ ।
अन्तिमको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दुई दलबीच सहमति छ । यस्तै मन्त्रालयको भागबन्डा पनि टुंगो लागेको छ । जसमा एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको छ ।
७ प्रदेशमध्ये एमालेले कोशी, लुम्बिनी र कर्णाली तथा कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम सरकारको नेतृत्व लिनेछ । मधेसमा भने मधेसकेन्द्रित दललाई नै नेतृत्व दिनेगरी सहमति भएको स्रोतको दाबी छ ।
संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने र उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी दुई दलको छ ।
यस्तै प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने, पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने र प्रदेशसभामा समानुपातिक प्रावधान हटाएर प्रत्येक्ष निर्वाचितमात्रै राख्ने एजेन्डामा कांग्रेस र एमालेले सहमति जनाएका छन् ।
संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने निर्णय भएको छ । संविधान संशोधन रहेकाले दुई तिहाइ पुर्याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । दुई तिहाइ पुर्याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ।