विराटनगर : माध्यमिक तहको परीक्षा एसईईमा मोरङका आठ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।
बिहीबार सार्वजनिक नतिजा अनुसार मोरङका विभिन्न विद्यालयका विद्यार्थीहरूले ४ जिपिए ल्याएका हुन् । एसईईमा ४ जिपिए भनेको सर्वोत्कृष्ट अंक हो । अर्थात ती विद्यार्थीले शतप्रतिशत नम्बर ल्याएका हुन् ।
यसरी ४ जिपिए ल्याउने विद्यार्थी सबै संस्थागत विद्यालयका हुन् । सामुदायिक विद्यालयका विद्यार्थीले भने मोरङमा ४ जिपिए ल्याउन सकेनन् ।
विराटनगरस्थित एभरेष्ट बोर्डिङका तीन जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । शिक्षा विकास तथा समन्वय इकाई मोरङका अनुसार कृतज्ञ दाहाल, राजु कुमार साह र सुब्रत बरालले ४ ल्याएका हुन् । एभरेष्ट स्कुलले प्रदेशमै आफ्नो विद्यालयले उत्कृष्ट नतिजा ल्याएको बताएको छ ।
पथरीशनिश्चरेमा रहेको रेडस्टार बोर्डिङ स्कुलबाट २ र उर्लाबारीको पशुपति आवसीय माविका एक जनाले ४ जिपिए ल्याएका छन् । रेडस्टारका अजय लिम्बू र सतिश आचार्य तथा पशुपतिकी अन्वेशा बस्नेतले ४ जिपिए ल्याए ।
यस्तै विराटनगरको बुढानीलकण्ठ माविकी सिरेन भट्टराई र सगरमाथा बोर्डिङ स्कुलकी प्रतिभा रौनियारले पनि ४ जीपीएसहित उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
सामुदायिक विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याउन नसकेपनि पथरीमा रहेको पञ्चायत माध्यमिक विद्यालय जिल्लामा उत्कृष्ट भएको छ । पञ्चायतकी निकिता राईले सामुदायिक विद्यालयतर्फ सबैभन्दा धेरै ३.९६ जिपिए ल्याएकी छन् ।
यस्तै विराटनगरको आदर्श माविका अनिककुमार केवरतले ३.९५ जिपिए ल्याएका छन् ।
गत १५ चैतदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा मोरङबाट १७ हजार २७७ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये नौ हजार २१७ जना उतीर्ण भएका छन् । जम्मा ५३.३५ प्रतिशत विद्यार्थी उतीर्ण भएको शिक्षा समन्वय इकाईले जनाएको छ ।