Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रास्वपा सकिने बाटोमा रहेको बताउँदै ढकालले भने, ‘म महामन्त्रीबाट निकालिन सक्छु’



विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका छन्।

इलाममा सम्पन्न उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले देश भरका नेता तथा कार्यकर्ताको धारणा बुझेर प्रतिवेदन बनाउन महामन्त्री ढकाललाई कार्यादेश दिएको थियो।

महामन्त्री ढकालले तयार गरेको प्रतिवेदनमा रास्वपाको जनमत कमजोर बनेको र अहिलेको जस्तै गरि अगाडि बढिरहेमा रास्वपा विवेकशील साझा पार्टीको बाटोमा जाने निष्कर्ष निकालेका छन्।

उनले प्रतिवेदनमा पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्नु हितकर हुने समेत सुझाव दिएका छन्।

महामन्त्री ढकालले आम कार्यकर्ताबाट व्यक्त भएका भावनालाई प्रतिवेदनमा समेटेको र यसलाई कार्यान्वयन गर्न आफुले नेतृत्वलाई आग्रह गर्ने बताएका छन्।

आफूले जन्माएको पार्टी भएका कारण आफुले प्रतिवेदनमा यथार्थ उल्लेख गरेको बताउँदै उनले यसका लागि आफ्नो महामन्त्री पद समेत जान सक्ने उल्लेख गरेका छन्।

आफूले ३ हजार जनासँग दोहोरो कुराकानी गरेर प्रतिवेदन तयार पारेको ढकालले जानकारी दिए । उनले अब त्यो प्रतिवेदन सभापतिले सार्वजनिक गर्नुपर्ने बताए । प्रतिवेदन बुझाइसकेपछि उनले भने, ‘सार्वजनिक गर्न सभापतिलाई आग्रह गरेको छु । यो कुरा कार्यकर्ता र मतदाताले थाहा पाउनुपर्छ । उहाँले सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

अबको दिनमा पार्टीले प्रदेश संरचना खारेज गर्नुपर्ने प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस गर्नुपर्ने बताए । उनले भने, ‘जनताको माग प्रदेश होइन प्रशासन सुधार रहेछ । इन्तु परन्तु केही नभनी प्रदेश खारेज हुनुपर्छ ।’

पार्टीका संरचनाका बारेमा कठोर निर्णय लिनैपर्ने उनले बताए । उनले भने, ‘पार्टीप्रति जनता निराश छन् । घण्टी कालो देखिएको छ । मडारिएको बादल हटेपछि घण्टी  निलो देखिन्छ ।’

उनले पार्टी सरकारमा रहँदाको औचित्य पुष्टि गर्नुपर्नेसमेत बताए । उनले भने, ‘आगामी हप्तामा मन्त्रीहरुको १०० दिनको समीक्षा गर्छौं । प्रत्यक्ष प्रषारण गर्ने छौँ ।’  उनले अगाडि थपे, ‘हामी सरकारमा गइसकेका छौँ ।जुन ढोकाबाट गयौँ त्यही ढोकाबाट निस्कन मिल्दैन, औचित्य पुष्टि हुनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार