विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगर जलमग्न भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण विराटनगर डुबानमा परेको हो ।
वर्षाले विराटनगरका विभिन्न ठाउँमा डुबान भएको छ । विराटनगरका दुई ठूला खोलामा आएको बाढी ओभरफ्लो भएर बस्तीमा पस्न थालेको छ ।
विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया खोलाको बाढी तटीय बस्तीमा पसन थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दिए ।

खोलाको बाढी विराटनगर महानगरपालिका-६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घरमा पसेको वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए । उनका अनुसार वडाका अन्य क्षेत्र पनि डुवानमा परेको छ ।

यस्तै वडा नम्बर १२ का केही स्थान डुबानमा परेका छन् । पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । मंगलबार रातिदेखि परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालय पनि बिदा भएको छ ।
वर्षाका कारण मुख्य तथा भित्री सडकमा पनि पानी जमेर आवतजावतमा समस्या आएको छ ।





