विराटनगर : मोरङको रतुवामाई नगरपालिकाले आफ्नो पहिचान दिलाउने छुट्टै लोगो र्सावजनिक गरेको छ । सोमबार १४ औँ नगरसभाको अवसरमा नगरपालिकाको पहिचान अङ्कित नयाँ लागो सार्वजनिक गरिएको हो ।
नगरले लोगो बनाउनका लागि सार्वजनिक सूचना आह्वान गरेर सर्वसाधारणबाट ‘डिजाइन’ माग गरेको थियो । उक्त सूचनाका आधारमा कलाकार बिक्रम श्रीको डिजाइन छनोट गरिएको हो ।
उनले बनाएको लोगोमा नगरपालिकाको राजनैतिक नक्सा,पृष्ठभूमिमा रतुवामाई नदी राखिएको छ ।
यस्तै कृषियोग्य जमिन जंगल (पर्यावरण) दर्शाइएको छ । कमलको फूलले शिक्षा र आदिवासी भूमिपुत्रहरुको संस्कृति र सभ्यतालाई संकेत गरेको छ । धानको बालाले कृषि उद्यमलाई संकेत गरेको छ ।
राष्ट्र, राष्ट्रियताको प्रतिकको रुपमा पृष्ठभूमिमा झण्डाको रङलाई प्रस्तुत गरिएको नगरपालिकाले जनाएको छ ।लोगोमा देखिएको महिला-पुरुष दुवै हातले नगरवासीको अपनत्व भन्ने बुझाउने नगरपालिकाले बताएको छ ।
गोलाकारमा नगरको नाम र समृद्धि सूचक आधारमा प्रदेशको नाम अंकित गरी समष्टिमा नगरको स्वरुप, स्वभाव र मौलिक परिचय प्रस्तुत गरिएको जनाइएको छ ।
उक्त लोगो बनाए बापत कलाकार बिक्रम श्रीले नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।