पर्यटन मन्त्री बुर्जा र मन्त्रालयको भवन । तस्बिर : पूर्वेलीप्रेस
विराटनगर : पर्यटकीय दृष्टिकोणले कोशी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना छ । तर, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले ल्याएको बजेट भने वितरणमुखी र बेथिति उन्मुख रहेको पाइएको छ ।
सरकारले पर्यटन प्रवर्द्धन र विकासका लागि छुट्याएको बजेट वितरणमुखी र बेथिति उन्मुख रहेको देखिएको हो।
मन्त्रालयभित्र रहेको पर्यटन विकास आयोजना नामको इकाईमार्फत ३ सय भन्दा बढी योजनाहरु ४ लाखदेखि २५ लाखसम्मका छन्। ७० भन्दा बढी त साना टोले मन्दिर निर्माणका नाममा पैसा राखिएको छ। प्रदेश सरकारले प्रकाशित गरेको आयोजना पुस्तिका हेर्ने हो भने बजेटहरु छरपस्ट देखिन्छन्।
गाउँका टोलतिर साना केटाकेटीका लागि बनाइएका कतिपय अव्यवस्थित पार्कदेखि पहाडका गाउँघरतिर हिँड्ने सामान्य बाटोलाई पदमार्ग नाम दिएर पनि बजेट छुट्याइएको छ। घाटमा सूर्य स्तम्भ निर्माणदेखि साना-साना थान र गुम्बाहरुलाई बजेट छुट्याइएको छ।
विभिन्न जातजातिका सामुदायिक भवनदेखि पौडेल बन्धुहरुको कुलपूजा मन्दिर निर्माणसमेतलाई रकम विनियोजन गरेको छ। पर्यटन मन्त्रालयले झापाको दमकमा पौडेल बन्धुहरुको भवन बनाउन १५ लाख रुपैयाँ छुट्टयाएको छ ।
प्रदेशको दीर्घकालीन पर्यटन विकास र प्रदेशलाई समुन्नत बनाउनका लागि पर्यटन मन्त्रालयको बजेट काम नलाग्ने देखिएको व्यवसायीहरुको गुनासो छ
पर्यटन व्यवसायीहरुले अहिलेको यो बजेटले पर्यटनको क्षेत्रमा कुनै विकास नहुने र यसले बेथिति मात्रै भित्र्याउने बताएका छन् ।
कोशीमा अहिले माओवादीका नारायण बुर्जा मगर पर्यटन, वन तथा वातावरण मन्त्री छन् । उनले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित बजेट ल्याएको सांसदहरूकै गुनासो छ । उनले मन्दिर र पार्कमा नाममा आफ्नो निर्वाचन क्षेत्रमा करोडौंको योजना हालेका छन् ।