Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बजेटका कारण विवादमा मन्त्री उप्रेती, आफ्नै दलका सांसद रुष्ट



विराटनगर : कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेती पछिल्लो समय विवादमा तानिएका छन । खासगरी सरकारले ल्याएको बजेट मन्त्रीमुखी भएको भन्दै उप्रेतीको तीव्र आलोचना भइरहेको छ ।

बजेटमाथिको छलफलमा बोल्ने अधिकांश सांसदले उप्रेतीले मन्त्रीको घर वरिपरि र आफ्नो कार्यकर्ता रिझाउने गरी बजेट ल्याएको आरोप लगाएका छन् ।

उप्रेतीको उनकै दल नेकपा माओवादीका सांसदहरूले आलोचना गरिरहेका छन् ।

मोरङ २ (१) का सांसद उप्रेतीको निर्वाचन क्षेत्रमा पूर्वाधारसम्बन्धि ७२ वटा योजना परेका छन्। पूर्वाधार विकास कार्यालय मोरङमार्फत २७ करोड ५५ लाख रुपैयाँ बराबरको योजना उनको क्षेत्रमा छुट्टयाइएको छ । अधिकांश बजेट उनको निर्वाचन क्षेत्र केन्द्रित भएको आरोप लागेको छ ।

हालेका योजनाहरु पनि उप्रेतीले आफ्ना पार्टीका कार्यकर्ताको नाम जोडेर हालेका छन् । तलबाट सिफारिस भएर आएका योजनाहरुमा माओवादीका कार्यकर्ताको नाम जोडिएको मात्रै बजेटमा समावेश भएको उनीमाथि आरोप लागेको छ ।

माओवादी केन्द्रीय सदस्यसमेत रहेकी सांसद गीता तिम्सिनाले उप्रेतीको तीव्र आलोचना गरिन् । प्रदेशसभामा बाल्दै उनले भनिन्, ‘मेरो गाउँमा एक जना दाइ हुनुहुन्थ्यो उहाँले दालमा डुबेर मरेको झिँगालाई निकालेर पछार्नुहुन्थ्यो। मरेको झिँगा किन पछारेको भन्दा झिँगा पो मर्‍यो त रिस त मरेको छैन नि! भन्नुहुन्थ्यो । मन्त्रीहरूलाई झिँगैसँग त किन दाँज्नू र ! तर तपाईंहरू जुन कुर्सीमा बस्नुभएको छ, त्यसको अवस्था खस्किएकै छ।’

उनले सरकारले समानुपातिक सांसदको क्षेत्रमा र प्रत्यक्ष सांसदको क्षेत्रमा विभेदपूर्ण ढंगले योजनाहरू छनोट गरिएको बताइन्। तिम्सिनाले भने जस्तै विभेद पहुँचको आधारमा पनि भएको रातो किताबले देखाउँछ।

यस्तै उप्रेतीले प्रचण्डका ज्वाइसमेत रहेका सांसद जीवन आचार्यलाई रिझाउन उनको क्षेत्रमा पनि धेरै बजेट हालेका छन् ।

माओवादीका एक सांसद भन्छन्, ‘उहाँ (गणेश उप्रेती) ले सरकारमा बसिरहन नेताहरूलाई रिझाउन खोज्नुभएको छ । बजेट आफूखुसी मन लागेको ठाउँमा हाल्नुभएको छ । उहाँमा मन्त्रालयको नेतृत्व गर्ने क्षमता देखिए । उहाँ सानो घेरामा रमाउन खोज्नुहुँदो रहेछ ।’

आचार्यको निर्वाचन क्षेत्र  मोरङ ६ (१) मा ९७ वटा आयोजनाहरूमा १३ करोड ४५ लाख भन्दा बढी रकम विनियोजन भएको छ ।

बजेट जसको भक्ति उसकै शक्ति जस्तो देखिएको एमाले सांसद किशोरचन्द्र दुलाल बताउँछन् । दुलालले शुक्रबार प्रदेशसभामा भने, ‘बजेटमा जसको शक्ति, उसैको प्राप्ति जस्तो देखिएको छ। हाम्रो प्रदेशमा सिस्टम कोल्याप्स भएको हो?’

उनले मन्त्रीहरूलाई हन्तकालीको संज्ञा दिएका छन् । ‘हन्तकालीहरूले मिलेर प्रदेशको बजेट खाए भनेर चित्त बुझाउँदै लाचार भएर यो बजेटलाई समर्थन गर्न म बाध्य छु।’

यस्तै माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री बनेका उदयपुरका नारायण बुर्जा मगरको पनि सांसदहरूले आलोचना गरेका छन् ।

प्रदेशका एक जना मन्त्रीले नै उप्रेतीको विरोध जनाए । तर, आफूलाई अप्ठ्यारो पर्ने बताउँदै उनलेे आफ्नो नाम खुलाउन चाहेनन् । ती मन्त्री भन्छन्, ‘भौतिक पूर्वाधार मन्त्रीज्यूले अब फेरि मन्त्री भइन्छ कि भइँदैन जसरी आफ्नो क्षेत्रमा बजेट खन्याउनुभएको छ । यो अस्वाभाविक हो । उहाँले आफ्ना कार्यकर्ताले भनेको मात्रै बजेट हाल्नु भएको छ ।’

नेकपा एकीकृत समाजवादी पार्टीकि सांसद विद्या चाम्लिङले त बजेट किताब च्यात्ने सम्मको धम्की दिएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार