विराटनगर : कोशी प्रदेश सरकारको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ पास भएको छ । बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले योजना पास गरेको हो ।
योजना पास भएसँगै आगामी आर्थिक वर्षमा सुरुदेखि नै विपद्का कार्यहरू गर्न सहज हुने छ । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मातहतका निकायहरूलाई विपद्का बेला सबै मिलेर काम गर्नु पर्ने बताए । उनले प्रदेश सरकारले आफूले सकेको सहयोग गर्ने र सुरक्षा निकायहरूसँग समन्वय गरेर काम गर्ने बताए ।
प्रदेश विपद् व्यवस्थापन परिषद् मुख्यमन्त्रीको अध्यक्षतामा रहने कानुनी व्यवस्था छ ।
बैठकमा विपद्का बेला आइपर्ने घटनाहरूलाई मध्यनजर गर्दै गर्नुपर्ने कार्ययोजनाहरुको बारेमा पनि छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्र् सचिव कमल थापाले बताए ।
बैठकमा चालु आर्थिक वर्षको असार ५ गतेसम्म प्रदेशमा विपदमा परेकाहरूलाई गरिएको राहत सहयोगका बारेमा पनि जानकारी दिइएको थियो । प्रदेश सरकारले ७२ लाख ५५ हजार राहत वितरण गरिसकेको छ । सबैभन्दा बढी उदयपुरमा ४९ जनालाई १६ लाख ९५ हजार र कम ओखलढुंगामा १ जनालाई ३० हजार वितरण गरेको छ ।
त्यस्तै विपदबाट प्रभावित भएका परिवारका निजी आवास पुनर्निर्माणका लागि १ करोड १४ लाख ४५ हजार खर्च भएको छ ।
प्रदेश सरकारले जाजरकोटका भूकम्प पीडितलाई समेत १ करोड सहयोग गरेको छ । त्यस्तै मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रका लागि ३ ठाउँमा ६ करोड खर्च गरिसकेको छ ।
विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले सुरक्षा निकायहरूसँग पनि सहयोग र समन्वय गरेर काम गरिरहेको छ ।