विराटनगर : अविरल वर्षासँगै आएको पहिरोमा परी ताप्लेजुङमा ४ जनाको मृत्यु भएको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा गएराति करिब साढे १ बजे पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको हो ।
पहिरोमा परी मृत्यु हुनेहरुमा फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रबिन साम्रा (बिकास) का परिवारका सदस्य छन् ।
पहिरोमा परी साम्राका बुवा ७० वर्षीय रामबहादुर साम्रा, आमा ५० वर्षीया जसमाया साम्रा, जुम्ल्याहा बहिनी गंगा र जमुनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मृतकहरुको शव घरदेखि करिब ५० मिटर तल फेला परेको थियो ।
घट्नास्थलमा हाल सिँवा प्रहरी चौकीको टोली खटिएको र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक कमलकुमार लुङगेलीको नेतृत्वमा थप प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । सोही पालिकामा बिहिबार मात्रै खोलामा आएको बाढी पहिरोले विभिन्न स्थानका ४ ओटा काठबाट निर्मित मोटरेबलपुल बगाएको थियो ।