विराटनगर : क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप सहभागी गराउने जानकारी दिएकाे छ।
‘जारी आइसिसी पुरुष टी-२० विश्वकप २०२४का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ’, क्यानद्वारा साेमबार बिहान जारी विज्ञप्तिमा भनिएकाे छ।
पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसीसामु पेस गरेकाे भए पनि अमेरिकाले भिसा उपलब्ध नगराउँदा सन्दीपले विश्वकप गुमाए र अब साेही प्रक्रियाबाट सन्दीपलाई वेस्ट इन्डिजमा विश्वकप खेलाउनका लागि आइसिसीसँग समन्वय भएकाे क्यानले जनाएकाे छ।
आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप लामिछानेले सबैलाई धन्यवाद दिएका छन् ।
विश्वकपमा सहभागी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले क्यान पदाधिकारीहरूको नाम जोडेर फैलाइएका प्रपोगाण्डामा विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् ।
उनले विश्वकप क्रिकेटमा सहभागितालाई सम्भव बनाउन क्यान अध्यक्ष चतुर बहादुर चन्द, क्यानका सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दास लगायतलाई धन्यवाद दिएका छन् ।
उनले भनेका छन्, ‘चतुर सर र पारस दाइजस्ता महत्त्वपूर्ण व्यक्तित्वहरूको छविलाई कलङ्कित गर्न झुटो प्रचार भइरहेको छ । त्यस्ता प्रपोगाण्डामा विश्वास नगर्नुहोला । उनीहरूकै पहल र सक्रियताले मेरो विश्वकप सहभागिता सम्भव भएको छ ।’
