विराटनगर : कोेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार एक्लैको लगानी र पहलले मात्रै पर्यटन क्षेत्रको विकास नहुने बताएका छन् । यसका लागि नीजि क्षेत्रको भुमिका पनि उत्तिकै महत्वपुर्ण हुने उनले बताए ।
शुक्रबारबाट नेपाल पर्यटन बोर्डको आयोजनामा सुनसरीको इटहरीमा सुरु गएको तिनदिने इस्टर्न ट्राभल मार्ट २०२४ को उद्घाटन गर्दै उनले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको जानकारी दिँदै उनले यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकारले आफ्नो हैसियतभन्दा माथि नै उठेर लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले भने, ‘प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि विभिन्न रणनीतिक योजनाहरू अघि सारिएका छन् । प्रदेश सरकारले आउँदो वर्षको प्रारम्भमै कानुन बनाएर पर्यटन विकास बोर्डको गठन गर्नेछ ।’
सरकारले २०८२ लाई कोशी भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेको बताउँदै उनले बैशाखमा अन्तर्राष्ट्रिय गुराँस महोत्सवको आयोजना गरेर यसको सुरुवात गरिने बताए ।
प्रदेशमा रहेका बराहक्षेत्र, पाथिभरा, हलेसी तुवाचुङ, बिराटराजाको दरबार, किराँत धर्मगुरु आत्माराम लिङ्ग्देन बसोबस गर्नुभएको क्षेत्र जस्ता हाम्रा धार्मिक, सांस्कृतीक, पुरातात्वीक तथा प्राकृतकि क्षेत्रमा पुर्वाधार विकास गर्न नीतिगत तथा बजेटको व्यवस्था गर्ने उनको भनाइ छ ।