Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व : मुख्यमन्त्री कार्की



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व भएको बताएका छन् । वातावरण जीवन चक्रको विषय भएको र यसले हाम्रो स्वास्थ्य र जीवनको गति निर्धारण गर्ने उनले बताए ।

विश्व वातावरण दिवसको अवसरमा मुख्यमन्त्री कार्कीले शुभकामना सन्देश जारी गर्दै वातावरण संरक्षणमा कोशी प्रदेश सचेत रहेको बताए । पर्यटन, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षणका कामलाई प्रभावकारी रुपमा अघि बढाइरहेको भन्दै उनले वन ऐन, वातावरण ऐन तथा नियमावालीहरु निमार्ण भइ कार्यान्वयनमा आइ सकेको समेत जानकारी दिए ।

उनले आगामी आर्थिक वर्षमा वातावरण संरक्षण कार्यक्रम, अनुसन्धान र जलवायु अनुकुलनमा आधारित विकासजस्ता योजना तथा कार्यक्रमहरु सञ्चालन गरिने बताए । मुख्यमन्त्री कार्कीले सन्देशमा नेपालले पछिल्लो समय मरुभूमिकरणको समेत सामना गर्नु परिरहेको छ भन्दै चिन्ता व्यक्त गरेका छन् ।

विश्व वातावरण दिवसले वातावरण संरक्षण र संवधनमा थप जिम्मेवार बनाउने बिश्वास उनको छ । वातावरण संरक्षण, वनजंगल व्यवस्थापन र जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रदेश सरकारले योजना र कार्यक्रमहरू बनाएको उनले बताए । मुख्यमन्त्री कार्कीले भने, ‘ वातावरण संरक्षणको महत्व र यसको लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’
हरेक नागरिकलाई वातावरणीय समस्याप्रति चासो विकसित गर्न र समाधान खोज्न उनले आह्वान गरेका छन् । उनले भनेका छन्,‘ एक जना व्यक्तिको वातावरण संरक्षणमा गरेको सानो कार्यले विश्व समुदायमा ठूलो योगदान पुर्याउन सक्छ ।’

कोशी प्रदेश सरकारको वातावरणप्रतिको चिन्ता र प्रतिबद्धता प्रतिबिम्बित गर्ने उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । वातावरण दिवसले नागरिकहरूलाई पनि यस विषयमा सक्रिय हुन प्रेरित गर्ने मुख्यमन्त्री कार्कीले बताए । यो वर्ष हाम्रो भूमि हाम्रो भबिश्य भन्ने नाराका साथ वातावरण दिवस मनाइदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार