Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नीति तथा कार्यक्रम तराई केन्द्रित छ, हिमाल र पहाडमा सरकारको ध्यान गएन : शेर्पा



विराटनगर : कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पाले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम तराई केन्द्रित भएको आरोप लगाएका छन् ।

मंगलबार नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सांसद शेर्पाले हिमाल र पहाडको विकासका लागि नीति तथा कार्यक्रममार्फत सरकारको ध्यान नपुगेको बताए ।

सांसद शेर्पाले प्रदेशका पर्यटकीय स्थलहरूको पहिचान र प्रवद्र्धन गर्न सरकारसँग माग गरेका छन् । सरकारले सगरमाथा भएको प्रदेश भएर पनि त्यसबाट कुनै लाभ लिन नसकेको बताए । सोलुखुम्बुको पर्यटकीय स्थलहरूको पहिचान गरी त्यसबाट फाइदा लिन सरकार चुकेको उनको भनाइ छ ।

सरकारले नीति तथा कार्यक्रममा प्रदेशभित्रका पर्यटकीय स्थलहरूको पहिचान तथा प्रवद्र्धन गर्न ध्यान नदिएको उनको गुनासो छ ।

सांसद शेर्पाले हिमाल र पहाडलाई संघीय र प्रदेश सरकार दुवैले उपेक्षा गर्दा बसाइँसराइको दर बढिरहेको बताए । सरकारले त्यहाँका पूर्वाधार विकासमा ध्यान दिन नसकेको उनले बताए ।

नीति तथा कार्यक्रममा चाहिँदो छलफल र परामर्श नभई हतारमा ल्याइएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार