विराटनगर : नेकपा एमाले मोरङको दशौँ जिल्ला अधिवेशन आगामी मंसिरमा हुने भएको छ । यद्यपि मिति घोषणा भइसकेको छैन् ।
शुक्रबार विराटनगरमा बसेको जिल्ला कमिटीको पूर्ण बैठकले मंसिर मसान्तसम्म अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कमिटीको निर्देशन अनुसार जेष्ठ मसान्त सम्ममा जिल्ला अधिवेशन सम्पन्न गरिसक्नु पर्ने भएपनि मोरङमा विभिन्न कारणहरुबाट अधिवेशन सम्पन्न गर्न सक्ने अवस्था नरहकोले पार्टीको माथिल्लो कमिटी र जिम्मेवार नेताहरुसँगको सल्लाह र सहमति मंसिरमा अधिवेशन गर्ने निर्णय भएको बताइएको छ ।
यस्तै अहिलेको कमिटीलाई अधिवेशनसम्मका लागि संगठन कमिटीमा रुपान्तरण गरिएको छ । संगठन कमिटीको अध्यक्षमा बाबुराम कार्की चयन भएका छन् । अब उनै कार्कीको नेतृत्वमा अधिवेशन हुनेछ ।
जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोखरेलले संसदीय जिम्मेवारीको कारण उपाध्यक्ष रहेका कार्कीलाई संगठन कमिटीको अध्यक्ष बनाएर नेतृत्व हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष कार्कीले पालिका कमिटी र जनसंगठनहरु मध्ये समय पुगेका संगठनहरुको अधिवेशन आगामी आश्विन मसान्त सम्ममा सम्पन्न गर्ने निर्णय भएको बताए ।
यस्तै विराटनगरको मानगढ खानेपानीको उमेदवारको विषयमा पार्टीको सहमति उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधिएको छ । पार्टीको निर्णयविपरीत खानेपानीको अध्यक्षमा उम्मेदवारी दिने लालमणी भट्टराई र उनको पक्षपोषण र प्रचारप्रसारमा संलग्न नवराज नेपाललाई पार्टीले स्पष्टीकरण सोधेको हो ।
खानेपानीका सन्र्दभमा थप छानविन र आवश्यक कारवाहिको लागि शान्ति लिम्बूको संयोजकत्वमा रविन थापा र काजी बहादुर बस्नेत सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन भएको छ । उक्त कार्यदलले १५ दिन भित्र आवश्यक कारवाहीका लागि कमिटीमा सिफारिस गर्ने बताइएको छ ।