Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा तिलकुमार मेन्याङ्बो



विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा तिलकुमार मेन्याङ्बो चयन भएका छन् ।

मंगलबार एमाले संसदीय दलका नेता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको दलको बैठकले उपनेतामा मेन्याङ्वोलाई चयन गरेको हो ।

यसअघि संसदीय दलको उपनेता रहेका रामबहादुर राना प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएपछि मेन्याङ्वोलाई उपनेता चयन गरिएको हो ।

दलको उपनेतामा चयन भएका मेन्याङ्वो नेकपा एमाले पोलिटब्युरो सदस्य हुन् । उनी ताप्लेजुङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यस्तै बैठकले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा सुझाव दिन ५ सदस्यीय कार्यदल बनाएको एमाले संसदीय दलकी सचेतक कमला दर्नालले जानकारी दिइन् ।
बैठकले उपनेता तिलकुमार मेन्याङ्वोको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा सचेतक कमला दर्नाल, प्रदेश सभा सदस्य तिलचन पाठक, इन्द्रमणि पराजुली र जयप्रकाश चौधरी छन् ।

कार्यदलले आगामी आर्थिक वर्षका लागि सरकारले प्रदेश सभामा पेस गर्ने बजेट नीति तथा कार्यक्रम कस्तो बनाउने भनेर सुझाव दिने छ । कार्यदलले १८ गते सम्ममा सुझाव दिइसक्ने सचेतक दर्नालले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार