विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधानको मर्म र भावना अनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस् भनी गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री कार्कीले १७औँ गणतन्त्र दिवसको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा जनताको जित भएको विशेष दिनका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका छन् ।
उनले नेपाली जनताका प्रतिनिधिमार्फत् संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको महत्वपूर्ण दिनमा गणतन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अपाङ्ग भएका र बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
शुभकामनामा भनिएको छ, ‘नेपाल आमाका हजारौं छोराछोरीको बलिदानको बलमा प्राप्त गणतन्त्रलाई संस्थागत गर्दै संविधानको कार्यान्वयन गर्ने आजको हाम्रो प्रमुख कर्तब्य हो । त्यसबाट मात्र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्न सकिन्छ । राज्यको सर्वोच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य त्यही हो ।’
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आजको दिनमा थप सुदृढ राष्ट्रिय एकता जरुरी भएको उनको भनाइ छ । संविधान अनुरुप राज्य संयन्त्रमा भएको परिवर्तन सबै जनताले अनुभूत गर्न सक्नेगरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने उनको धारणा छ । कार्कीले गणतन्त्रसँगै स्थापित भएको संघीयताको प्रभावकारी कार्यान्वयन गर्दै जनअपेक्षा अनुरुप शासन सञ्चालन गर्नु र प्रदेशको औचित्य स्थापित गर्नु आजको प्रमुख जिम्मेवारी भएको बताएका छन् ।