विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार टिकाउन अन्तिम समयसम्म प्रयास गर्ने नेपाली कांग्रेसले बताएको छ ।
आइतबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले यस्तो बताएका हुन् । उनले बैशाख २५ गतेसम्म सरकार टिकाउन प्रयास गर्ने बताए ।
कांग्रेस संसदीय दल मुख्यमन्त्रीको पक्षमा उभिने उनले बताए । उनले संविधानको धाराअन्तर्गत सरकार संरक्षण गरेर जाने रणनीतिमा कांग्रेस रहेको बताए । प्रमुख सचेतक तामाङले भने, ‘विश्वास नहुँदा ३० दिनसम्म मुख्यमन्त्रीले विश्वाको मत लिने समय भए पनि संकल्प प्रस्ताव अनुमानको भरमा ल्याइयो । संविधानले दिएको बाटोलाई अबलम्बन गरेर जेजे गर्न सकिन्छ, त्यही गर्छौ ।’
यसअघि बसेको दलको बैठकमा बहुमत सदस्यले मुख्यमन्त्रीले मार्गप्रसस्त गर्नुपर्छ भन्ने धारणा राखेपनि दलको बैठकले सरकार बचाउनुपर्छ भनेर निर्णय गरेको तामाङले बताए । उनले मुख्यमन्त्रीले संसदको अधिकारमाथि च्यालेन्ज गरेको विषयमा भने उनले कुनै प्रतिक्रिया दिएनन् ।
कोशीमा विपक्षी एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव पारित गरी मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने माग गरेका छन् । यही वैशाख २५ गतेभित्र कार्कीले विश्वास मत लिनुपर्ने विपक्षी दलको जिकिर छ ।