ताप्लेजुङ : नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । सत्ता साझेदार दलहरुबीचको समीकरण आउने निर्वाचनसम्म कायम राख्ने सामूहिक सहमति र प्रतिबद्धता भएको उनले बताए ।
शनिबार पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले सरकार बनाउने अर्को विकल्प सहज नभएकाले उक्त प्रतिबद्धताअनुसार दलहरु अघि बढ्ने विश्वास व्यक्त गरे । छिमेकी देशहरुमा तीव्ररुपमा विकास भइरहेकाले उनीहरुलाई पछ्याउनका लागि पनि वर्तमान सरकार टिकाई राख्नुपर्ने उनको भनाइ छ ।
कतिपयले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिए पनि त्यसका लागि समय बितिसकेको उनले बताए । वर्तमान सरकारलाई समर्थन गर्नुअघि मुलुकको बिग्रँदो अवस्थालाई नियन्त्रण गर्न नेपाली कांग्रेससँग छलफल गर्न खोजेको तर कांग्रेसले तत्परता नदेखाएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्ने निर्णयमा पुगेको भट्टराईको धारणा छ ।
उनले सत्तामा सामेल ठूलो दल एमालेले सरकारको नेतृत्वलाई सजिलो बनाउने र असन्तुष्ट दलहरुलाई सन्तुष्ट बनाएर अघि बढ्ने बताउँदै कतिपयले अहिलेको समीकरणलाई वामपन्थी एकता वा धुव्रीकरण भनेर भन्ने गरे पनि त्यो नभएको बताए ।