विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा कृष्ण बस्नेत (पर्शुराम) को पुनर्वहाली भएको छ । सोमबार उच्च अदालत विराटनगरले बस्नेतलाई पुनर्वहाली गर्न आदेश दिएको हो।
उच्च अदालतका न्यायाधीश ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले बस्नेतलाई खेलकुद विकास बोर्डको सदस्य सचिवमा पुनर्वहाली गर्न आदेश दिएको हो ।
कोशीमा हाल नेकपा एस ओखलढुंगका अध्यक्षसमेत रहेका हंशराज वाग्ले सदस्यसचिव छन् । अदालतको आदेशसँगै वाग्ले पदमुक्त भएका छन् ।
२०७८ चैत्र २१ गते बसेको तत्कालीन मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई पदमुक्त गर्दै वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । तत्कालीन सामाजिक विकासमन्त्री राजन राईले बस्नेतलाई पदमुक्त गर्दै वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेका थिए ।
उक्त निर्णयविरुद्ध बस्नेतले उच्च अदालतमा अन्तरिम आदेशको मागसहित मुद्दा दायर गरेका थिए । त्यसबेला अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
बस्नेतलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिवमा नियुक्त गरेका थिए ।