विराटनगर : इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा विजयी भएका नेकपा एमालेका सुहाङ नेम्वाङको विजयी सभामा लागि एमाले अध्यक्ष केपी शर्मा ओली इलाम जाने भएका छन् ।
दिउँसो हुने विजयसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली इलाम आउने एमाले जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए ।
यस्तै ओलीले सामाजिक सञ्जालमार्फत सुहाङलाई बधाई दिएका छन् ।
उनले लेखेका छन्, ‘इलामका मतदातालाई धन्यवाद !!
मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ–कति भोटले जितिन्छ?
सुहाङ्ले भन्नु भएको थियो–इलामेली जनतालाई सोध्नु पर्छ।
आज अन्तिम परिणाम आयो–५८३० मतान्तरले जित भयो।
हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ।’
गत शनिवार इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि उपनिर्वाचन भएको थियो। जसमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सुहाङ निर्वाचित भएका छन्। सोही क्षेत्रबाट निर्वाचित उनका बुबा एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि उक्त क्षेत्रको पद रिक्त रहेको थियो।