विराटनगर : इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको अन्तिम मत परिणाम आइएसकेको छ । इलाममा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
सुहाङले निकटतम प्रतिद्वन्द्वीभन्दा ५ हजार ८३० मतले पछि पार्दै संसदीय राजनीतिमा डेब्यू गरेका हुन् । सुहाङले २७ हजार ७७२ मत ल्याएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत मात्रै ल्याए ।
इलाममा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्र ल्याए ।
२०७९ मंसिर ४ गते भएको निर्वाचनका गठबन्धनका उम्मेदवार हराउँदै निर्वाचित भएका सुवासचन्द्र नेम्वाङको २०८० भदौ २६ मा निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो ।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए । सुवासले डम्बरलाई ११४ मतको झिनो मतले हराएका थिए ।
तर, अहिले तीनै डम्बरलाई सुवासका कान्छा छोरा सुहाङले ५ हजार ८३० मतको फराकिलो मतान्तरले हराएका छन् ।
बुबाको निधन भएपछि राजनीतिमा आएका सुहाङले पहिलो प्रयासमै संसदीय यात्रा तय गरे । सुहाङले बुवाले लगातार २५ वर्षसम्म जित्दै आएको क्षेत्रमा जित हासिल गर्दै बुबाको विरासतसँगै आफ्नो यात्रा अघि बढाएका छन् ।
बुबाजस्तै शालिन र भद्र देखिने सुहाङ पेसाले अधिवक्ता पनि हुन् । एमालेको कानुन विभाग सदस्य रहेको उनी बुबाको निधनपछि मात्रै सक्रिय राजनीतिमा आएका हुन् ।
विजयी भएपछि सुहाङले आफ्नो जीत सिंगो इलामेलीको जनताको भएको बताए । उनले भने, ‘बुवाले जसरी इलामेली जनताको मनमा बसेर काम गर्नुभयो, म त्यसलाई कम हुन दिन्नँ।’
‘मैले जुन तरिकाको मत प्राप्त गरेँ र इलामका आम मतदाताले विश्वास गर्नुभयो, यो क्षेत्रको समृद्धि र समाज रुपान्तरण गर्न मत दिएको रुपमा लिएको छु,’ सुहाङले भने, ‘इलाम २ को विकास निर्माणलाई पूर्णता दिने जिम्मा मेरो काँधमा आएको छ।’