Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाई घटनाको निष्पक्ष छानविन गर्न प्रदेश सांसद उप्रेतीको माग



गणेश उप्रेती ‘शुशिल’

विराटनगर : कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री गणेश उप्रेतीले रतुवामाई घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् ।

मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै सांसद उप्रेतीले रतुवामाई नगरपालिकाले विभिन्न समयमा खरिद गरेको र विभिन्न दातृ संघसंस्थाबाट प्राप्त खाद्यान्नसहित मल र बिउविजन नगरवासीलाई समयमा वितरण नगरी नष्ट गरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले भनेका छन्, ‘रतुवामाई नगरपालिकाको आर्थिक कोषबाट राहत प्रदान गर्नका लागि खरिद गरेको खाद्य सामग्री (चामल, दाल, तेल, नुन) र नगरपालिकाको कृषि शाखाबाट कृषकलाई अनुदानमा वितरण गर्न खरिद गरेको मल, बिउबिजन नगरपालिकाकै लापर्वाहीबाट काम नलाग्ने अवस्थामा पुगेपछि गुपचुप रुपमा नष्ट गरिएको घटनाले आम नगरवासीलाई चिन्तित र आक्रोशित बनाएको छ ।’

नगरपालिकाका जनप्रतिनिधि र जिम्मेवारी पदाधिकारीहरुको लापरवाहीको कारण लाखौं मूल्य बराबरको सामग्री काम नलाग्ने अवस्थामा पुग्नु र रातारात त्यसलाई खोलाको बगरमा लगेर गाडिएको विषय शंकास्पद भएको उनको भनाइ छ ।

उप्रेतीले खरिद गरिएको सामाग्री वितरण नगरी गोदाममा थन्क्याउनु र काम नलाग्ने अवस्थामा पुगेपछि रातारात नष्ट गर्नुले खरिद प्रक्रियामाथि नै प्रश्न खडा भएको बताए ।

उनले उक्त प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर्न नगरपालिका नेतृत्वलाई आग्रह गर्दै आवश्यक छानविनको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार