Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईमा पाक्दैँ गरेको खिँचडी



खोला बगरमा नुन, चामल, दाल, औषधि, मलखाद, विऊविजनलगायतका सामग्री पुरिएको घटना सार्वजनिक भएपछि अहिले रतुवामाई नगरपालिकाभित्र दुई तौरले खिँचडी पाक्न सुरू पाइन्छ । सार्वजनिक बिदाका दिनमा कर्मचारी कागजी काममा व्यस्त हुनु र जनप्रतिनिधिले दोषीलाई कारबाही गर्ने भन्दा आफ्नो बचाऊ कसरी गर्ने भन्ने पीरले सर्वपक्षीय छलफलमा विषयान्तर गरी कुरा चपाएर प्रस्तुत हुँदा नगरभित्र खिँचडी पाकिरहेकोमा दुईमत छैन् ।

नगरपालिकालाई अनुदानमा आएका सामग्री र नगरले खरिद गरेका सामग्रीको यकिन विवरण सार्वजनिक नगरी नगरपालिकाले हालैका दिनमा सार्वजनिक गरेको विज्ञप्तिले जनप्रतिनिधि र कर्मचारीको त्रुटिलाई छुपाउन सकेको छैन ।

नेपाली कांग्रेस, नेकपा एमालेलगायत राजनीतिक दलहरु मेयर र उपमेयरलाई जोगाउन लागि पर्ने र सिंगो कार्यपालिका घटनाका सम्बन्धमा जोडिएर आएका कर्मचारीहरुलाई अनुसन्धानको दायरामा ल्याएर दोषी प्रमाणित भएमा कारबाही गर्न सक्ने ल्याकतमा नहुँदा नगरपालिकाभित्रै विकसित घटना क्रमले कर्मचारीको छुट्टै र जनप्रतिनिधिको छुट्टै खिँचडी पाक्कै गरेको कुरा बुझ्न आम नगरवासीलाई अब अल्मल छैन् ।

भलै, पाका उमेरका मेयर र सुस्त उपमेयरलाई कर्मचारीको भित्रि खेल थाहा नहोला । तर, थाहा छैन भन्दैमा जिम्मेवार व्यक्तिहरुले आम नगरवासीलाई सत्य, तथ्य र प्रष्ट जबाफ नदिएर शान्तसँग बस्ने छुट छैन् । जनताको नाममा सामाग्री र अनुदानमा आएको सामाग्रीमा मनमौजी गर्ने र आम नगरवासीलाई प्रष्ट जवाफ दिनुपर्ने बेलामा ललिता निवासलगायतका प्रसङ्ग कोट्याएर विषयान्तर गर्ने नगर प्रवक्ताको भूमिका शंकास्पद देखिएको छ ।

राजनीतिक दलका प्रतिनिधि नभएको छानविन समिति गठन गर्नुपर्ने नगर प्रवक्ताको भनाई हो भने सर्वपक्षीय छलफलमा राजनीतिक दलको नाममा विषयान्तर गरेको विषयले आम नगरवासीलाई सिंगो कार्यपालिका र कर्मचारीमाथि अझ शंका गर्ने सुविधा दिएको छ । जुन शंका गर्नुपर्ने आधारहरु विषयान्तर हुने किसिमले राजनीतिक दल र तिनका प्रतिनिधिले बोल्दै गर्दा सबै आआफ्नो बचाऊमा लागेको निश्चित प्राय छ ।

घटनाका सम्बन्धमा आरोप लागेका कर्मचारीलाई सार्वजनिक विदाका दिन कागजी काम गर्न दिने र छलफलका नाममा विषयान्तर गरी मेयर उपमेयरको बचाऊ गर्ने शैली आँफैमा शंकास्पद छ । जनताले अनुसन्धानको दायरमा ल्याउनु भनेका कर्मचारी र जनप्रतिनिधिलाई सत्यतथ्य छानविन नहुञ्जेलसम्म घटनासँग प्रत्यक्ष जोडिएका र प्रमाण तत्काल तोडमोड गर्न सक्ने अवस्थाबाट टाढै राखी तुरुन्त स्वतन्त्र निश्पक्ष न्यायिक छानविन समिति गठन गर्न आवश्यक छ ।

कसैकसैलाई फेरी न्यायिक समिति चाँहि किन ? अपराध गरेको हो र भन्ने पनि लाग्ला । राहत नपाएका जनता र भोका मानिसको नाममा राहत बाँडिएको भनि एउटा गरिबको भोको पेटमा लात हानेर चामल बगरमा गाड्नु पनि अपराध नै हो ।
नगरपालिकाभित्रका कर्मचारीले प्रयोग गर्दै आएको सरकारी सवारी साधनमा दुई ओटा नम्वर प्लेट प्रयोग भएको प्रमाणसहित फेला परेपछि मेयर, उपमेयर र सिंगो कार्यपालिकाको सामथ्र्य के हो भन्ने अब नगरवासीले बुझेका छन् ।

रतुवामाई नगरपालिकाले सामाग्री खोला बगरमा गाँडेको विषयले अहिले राष्ट्रव्यापी चर्चा पाएको छ । यही बेला जनप्रतिनिधि र राजनीतिक दलका नाममा मेयर, उपमेयरको बचाऊ गर्ने र सिंगो कर्मचारीतन्त्रलाई हाबी हुन दिने नगर कार्यपालिकाको कार्यशैलीले नगरभित्र थरीथरीका खिँचडी पाकिरहेको दृष्टान्त सार्वजनिक गरेको छ ।

घटनाको निश्पक्ष अनुसन्धान गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन आवश्यक छ । अझैपनि नगरवासीको भावनामाथि खेल्ने तुच्छ प्रयास गरिएमा त्यसले सङ्कट ल्याउने शंसय सिर्जना गरेको छ ।

लेखक अधिकारी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशका प्रलेख अधिकृत हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार