Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा माओवादीले राजीनामा दिएको मन्त्रालयमा मन्त्री नहुँदा अन्योल



मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश

विराटनगर : कोशी प्रदेश सरकारबाट गत सोमबार नेकपा माओवादी केन्द्रका तीन जना मन्त्रीले राजीनामा दिएपछि उनीहरुले सम्हालेको मन्त्रालयको मन्त्री को हो ? भन्ने अन्योल सिर्जना भएको छ ।

केन्द्रमा एकाएक नयाँ समीकरण बनेपछि प्रदेशमा पनि सोहीअनुसार सरकार निर्माण गर्ने भन्दै नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले केदार कार्कीलाई राजीनामा दिएका थिए ।

पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती, खानेपानी तथा सिचाइ मन्त्री नारायण बुर्जा मगर र सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले राजिनामा दिएका थिए । संवैधानिक व्यबस्था अनुसार मन्त्रीले दिएको राजीनामाको जानकारी प्रदेश प्रमुखकोमा गराउनु पर्ने र त्यो मन्त्रालय कसले सम्हाल्दै छ भन्ने सार्वजनिक गर्नुपर्ने अभ्यास हुँदै आएको छ ।

तर, मन्त्रीहरुले राजीनामा दिएको मन्त्रालय कसको नेतृत्वमा छ भन्ने सार्वजनिक भएको छैन । जसका कारण मन्त्रालयका सचिवहरु पनि अन्योलमा परेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले बुधबार सामाजिक विकास मन्त्रालय हेर्ने मन्त्री म हँु केके काम छन् भन्नुहोस भन्दै कर्मचारीलाई निर्देशन दिएपछि मन्त्रालयको मन्त्रीका विषयमा अन्योल सिर्जना भएको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रबक्ता नरेन्द्र श्रेष्ठले मन्त्रीको राजीनाको बारेमा पत्र आएपनि कार्यविभाजनको कुनै जानकारी नआएको बताए ।

यसअघि दिपक काफ्ले प्रमुख सचिव हुँदा मन्त्रीहरुको उनले नै कार्यविभाजनको चिठि दिएपछि विबाद भएको थियो । पछि प्रदेश प्रमुखको कार्यालयमा अर्को पत्र पठाएर मिलाइएको थियो ।

प्रदेशका सचिव केदारनाथ शर्माले अरु मन्त्रीलाई जिम्मेवारी नदिँदा सामान्यतया मुख्यमन्त्रीले नै हेर्ने अभ्यास भएकाले त्यस्तो गरिएको बताए । तर, यसअघि मन्त्रीहरुले राजीनामा दिएपछि मन्त्रालय कसको नेतृत्वमा छ भन्ने विषय सार्वजनिक हुँदै आएको थियो । यस विषयमा मुख्यमन्त्रीसँग सल्लाहा गरेर अघि बढ्ने सचिव शर्माले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार