विराटनगर : नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा ज्ञानबहादुर खड्का (जिबी) निर्वाचित भएका छन् । दशौं जिल्ला अधिवेशनबाट निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।
खड्काले १४४ मत ल्याएर अध्यक्षमा विजयी हुँदा राईले १३१ मत ल्याएका छन् । यस्तै अध्यक्षको अर्की उम्मेदवार तारा कार्कीले ३ मत ल्याइन् ।
उपाध्यक्षमा निवर्तमान जिल्ला कमिटी सचिवसमेत रहेका कमलप्रसाद न्यौपाने निर्वाचित भएका छन् । न्यौपानेले १८२ ल्याउँदा झक्कहरी बडाले ८७ मत ल्याए ।
यस्तै टंकलाल गिरीलाई ३९ मतले पराजित गर्दै अशोक थापा सचिवमा निर्वाचित भएका छन् । थापाले १५२ र गिरीले ११३ मत ल्याए ।
खुल्ला उपसचिवमा राजिव कट्वाल र महिला उपसचिवमा अस्मिता थापा विजयी भएका छन् । अनेरास्ववियुको राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेकी थापा लिखु गाउँपालिकाकी उपाध्यक्षसमेत हुन् ।
जिल्ला अध्यक्षमा निर्वाचित भएका खड्कालाई स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश कमिटी सदस्य तथा पूर्व प्रदेशमन्त्री अम्बिरबाबु गुरुङको साथ रहेको थियो ।
यस्तै हर्कबोल राईलाई केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य यज्ञराज सुनुवारको समर्थन थियो । पदाधिकारीमा उपसचिवमा चुनाव जितेकी अस्मिता थापा मात्रै यज्ञराज निकट हुन् ।