विराटनगर : नेकपा एमाले झापाको अध्यक्षमा प्रेम गिरी सर्वसम्मत चयन भएका छन् । एमाले झापा जिल्ला कमिटीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा गिरी सर्वसम्मत चयन भएका हुन् ।
यस्तै उपाध्यक्षमा शिवकुमार ढुङ्गेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी, महिला उपसचिवमा अनिता कन्दङ्वा सर्वसम्मत चयन भए । अधिवेशनबाट एक सय ४९ सदस्यीय समिति सर्वसम्मत नयाँ कमिटी चयन भएको हो ।
एमाले झापा इञ्चार्ज तथा पोलिटब्यूरो सदस्य विशाल भट्टराईका अनुसार पदाधिकारी पाँच, १५ वटा पालिकाबाट एक सय १०, खुला सदस्य १५, आदिवासी जनजातिबाट पाँच, दलितबाट पाँच, अल्पसङ्ख्यक मधेसीबाट तीन, मजदुरबाट पाँच र अपाङ्गबाट एक गरी एक सय ४९ जना सर्वसम्मत चयन भएका हुन् ।
चयन भएको समितिलाई आजै शपथग्रहण गराइएको छ । भट्टराईले बाँकी १० प्रतिशतलाई पार्टीको पहिलो बैठकले मनोनित गर्ने जानकारी दिए। एमाले झापाको अधिवेशनको उद्घाटन चैत १५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।