Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इलाम २ उपनिर्वाचनः कांग्रेसबाट कोको भए सिफारिस ?



विराटनगर : इलाम क्षेत्र नम्बर २ मा आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले आकांक्षीहरुको नाम सिफारिस गरेको छ ।

मंगलबार चुलाचुलीमा बसेको कार्यसमितिको बैठकले उम्मेदवार बन्न चाहनेहरुको नाम माथिल्लो समितिमा सिफारिस गरेको हो ।

कांग्रेसले ७ जना आकांक्षीहरुको नाम प्रदेश र केन्द्रमा सिफारिस गरेको इलाम क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति डिकेन्द्र इदिंगोले जानकारी दिए ।

उनका अनुसार सिफारिस भएकाहरुमध्ये भेषराज आचार्यको नाम पहिलो नम्बरमा राखिएको छ । उनी कांग्रेसको महासमिति सदस्य हुन् ।

यस्तै दोस्रो नम्बरमा केशव थापाको नाम सिफारिस गरिएको छ । त्यसपछि जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस भएको छ । बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस गरेको छ ।

इलामका सांसद तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको यो स्थानमा उपचुनाव हुन लागेको हो । उपनिर्वाचनका लागि निर्वाचन अयोगले चैत २४ गतेका लागि उमेदवारी दर्ताको मिति तोकेको छ ।

इलाम २ मा नेकपा एमालेले पनि ६ जनाको नाम सिफारिस गरेको छ । एमालेबाट सुवासचन्द्रका कान्छा छोरा सुहाङसहित ६ जनाको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार