विराटनगर : उदयपुरको कटारी नगरपालिकामा जनप्रतिनिधिहरुले नै तालाबन्दी गरेका छन् । मेयर राजेशचन्द्र श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले मनोमानी रुपमा एकलौटी काम गरेको भन्दै कटारी ९ जना वडा अध्यक्षहरुले सोमबार नगरपालिकामा तालाबन्दी गरेका हुन् ।
कार्यपालिकाको बैठकमा १७ जना सदस्यले असहमति जनाएको बिषयमा मेयर र प्रशासकीय अधिकृतले मनोमानी गरेको वडा अध्यक्षहरुको आरोप छ ।
नगरले सेवा प्रवाहमा सर्वसाधारणलाई सास्ती दिँदा पहाडी भेगका नागरिकलाई असहज भइरहेको वडा नम्बर १० का वडा अध्यक्ष क्षेत्र बहादुर खड्काले बताए । उनका अनुसार नगरपालिकाले योजना सम्झौता गर्न र भुक्तानी दिन विभिन्न बहानामा सर्वसाधारणलाई घर फर्काउने गरेको छ ।
यस्तै कार्यपालिकाबाट निर्णय नभएका योजनाहरु मेयर र अधिकृत मिलेर कार्यान्वयन गर्ने गरेको तर नगर परिषद्बाट पास भएका योजनाहरुमा रोक लगाइएको वडा अध्यक्षहरुको आरोप छ ।
प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टाराई आएपछि नगरमा बेथिति बढेको भन्दै तालाबन्दी गर्नु परेको वडा नं २ का वडा अध्यक्ष प्रेम बहादुर थापाले बताए ।