Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

देशको विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्नेमा सरोकारवालाहरुको जोड



विराटनगर  : सरकार र निजी क्षेत्रबीचको सहकार्य बिना मुलुकको आर्थिक विकास नहुनेमा सरोकारबालाहरुले जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागी बक्ताले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताएका हुन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सरकार र निजी क्षेत्रबीचको सहकार्यमा जोड दिदै सहकार्य प्रभावकारी नभएकै कारण देशको विकास सोचे जस्तो हुन नसकेको बताए । देशको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको उनको भनाइ थियो ।

यसैगरी बूढीगंगा गाउँपालिकाका प्रमुख जीतनारायण थापा मगरले औद्योगिक क्षेत्र समेटिएको पालिकाको विकासमा सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरे । उनले निजी क्षेत्रले एउटै राज्यमा तीन स्थानमा कर बुझाउनु परिरहेको बाध्यता कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल आवश्यक रहेको बताए । यसैगरी कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले लगानी आकर्षण हुन नसक्दा सरकारले निर्माण गरेको संरचनासमेत प्रयोगविहीन रहेको बताए । उनले निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारीमा ध्यान दिनुपर्नेमा जोड दिए ।

दुहवी नगरपालिकाका उपप्रमूख मेनुका पोख्रेलले साना, लघु र घरेलु उद्यमीको सशक्तिकरण र मुल प्रवाहीकरण विना आर्थिक विकास सम्भव नहुने भएकोले उनीहरुका लागि गरिने लगानीको तत्काल प्रतिफल खोज्न नहुने बताइन् । जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेनले स्थानीय अवस्था र आवश्यकतामा आधारित भएर लगानी गर्न आउने लगानीकर्तालाई जहदा गाउँपालिकाले सहयोग गर्ने बताउँदै लगानीका लागि आव्हान गरिन् ।

कृषि उद्योग तथा सहकारी मन्त्रालयका उद्योग महाशाखा प्रमूख लक्ष्मी पराजुलीले स्थानीय उद्योगको प्रवद्र्धनका लागि स्थानीय उत्पादनको उपभोग बढाउन सबै तहबाट प्रयास हुनुपर्ने बताए । उत्पादन वृद्धि बिना आर्थिक विकास सम्भव नहुने हुनाले उत्पादन, मुल्य अभिबृद्धि र बजारीकरणमा सम्बन्धित सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष भीम पौडेलले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै देशको आर्थिक विकास हुने विचार व्यक्त गरे । कार्यक्रममा महिला उद्यमी सुनिता छाराहाङ, निशा श्रेष्ठ, कृति श्रेष्ठ, साना तथा मझौला व्यवसायी संघका अध्यक्ष गोपालबहादुर पराजुलीलगायतले सहकार्यमा जोड दिएका थिए । उनीहरुले उद्योग व्यवसाय क्षेत्रमा स्थानीयस्तरमा आइपर्ने समस्या स्थानीय सरकारले नै समाधान गर्नु आवश्यक रहेको औंल्याएका छन् ।

द एशीया फण्डेशन र कम्युनिटी इन्गेजमेन्ट्स् एण्ड आउटरिचको सहयोगमा भएको कार्यक्रममा विराटनगर महानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय प्रमुख, प्रदेश सरकारका विभिन्न मन्त्रालयका महाशाखा प्रमुखहरु लगायत ६० जनाबढी उद्योगी व्यवसायी सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार