विराटनगर : विराटनगरमा सम्पन्न प्रथम मदन स्मृति अन्तर वडा खुला पुरुष कबड्डी प्रतियोगिताको उपाधि वडा नम्बर १७ ले जितेको छ ।
मदन भण्डारी स्पोट्स् एकेडेमी विराटनगर कमिटीको आयोजनामा विराटनगर १८ राजा विराट खेलमैदान झटियाहीमा भएको खेलमा वडा नम्बर १४ लाई पराजित गर्दै १७ नम्बर वडा विजयी भएको हो ।
उपाधि विजेता वडा नम्बर १७ ले नगद ३१ हजार रुपैयाँ तथा उपविजेताले नगद २१ हजार रुपैयाँ सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै खेलको उत्कृष्ट खेलाडीको पुरस्कार वडा नम्बर १७ का खेलाडी मोहम्मद सहमद आलम र उदीयमान खेलाडीको पुरस्कार वडा नम्बर १४ का अनिस यादवले हात पारे । विजेता तथा उपविजेता टिमलाई नेकपा एमालेका नेता विनोद ढकाल, नेकपा एमाले विराटनगर कमिटीका अध्यक्ष सागर थापा लगायतले पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा बोल्दै नेकपा एमालेका पूर्व केन्द्र्रीय सदस्य विनोद ढकालले खेलकुदको माध्यमबाट सबै समूदायलाई एकताको सुत्रमा बाँध्न सकिने भन्दै सबै खेल क्षेत्रको विकासको लागि सबै पक्ष लाग्नु पर्ने बताए।
यस्तै एमाले विराटनगर अध्यक्ष सागर थापाले खेल क्षेत्रको विकासको लागि नेकपा एमालेले सधै साथ सहयोग गर्ने बताए । उनले मदन भण्डारी स्पोट्स एकेडेमीले विराटनगरको खेल क्षेत्रको विकास गर्न तथा खेलकुदका लागि विराटनगरको दक्षिणी क्षेत्रलाई प्राथमिकता दिएकोमा धन्यवाद व्यक्त गरे । प्रतियोगितामा विराटनगरका १२ वटा वडाको सहभागिता आयोजक समितिका अध्यक्ष गोपाल झाले बताए।