इनरुवा : कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले इनरुवा–दुहबी सडकको निर्माण चाँडै सुरु हुने बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवा–१ मा शुक्रबार स्थानीयसँगको कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले सो सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढेकाले निर्माण चाँडै सुरु हुने उल्लेख गरे । उनले भने, ‘सडकखण्ड निर्माण प्रदेश वा सङ्घ सरकार कस्ले गर्ने विषयमा अन्यौलता थियो । अब त्यो समस्या समाधान भएकाले निर्माण चाँडै सुरु हुन्छ ।’
फरक प्रसङ्गमा बोल्नुहुँदै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका सबै १० वर्षमुनिका बालबालिकालाई प्रदेश सरकारले निःशुल्करुपमा स्वास्थ्य उपचारका लागि व्यवस्था गरेको बताए ।
मुख्यमन्त्री कार्कीले जिल्लाको विकासका लागि टुक्रे योजनाभन्दा जनतालाई प्रत्यक्ष फाइदा हुने योजना आवश्यक भएको बताए ।