Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सत्ता टिकाउन कोशी सरकार जस्तोसुकै हर्कत गर्न अग्रसर देखियो : एमाले



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सत्ता टिकाउने नाममा जस्तोसुकै हर्कत गर्न अग्रसर भएको नेकपा एमालेले आरोप लगाएको छ ।

सोमबार एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ती जारी गरेर गैरदलीय पृष्ठभूमिबाट बनेको प्रदेश सरकार संविधानको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्ने कार्यभार विपरीत नितान्त भागबन्डाको राजनीति र सत्ता टिकाउने खेलमा लागेको आरोप लगाएका छन् ।

सरकार कानुनको धज्जी उढाउँदै भष्ट्राचार र कुशासनको पक्षमा विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘पूर्ववत प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले ल्याएको बजेटलाई अध्यादेशमार्फत संशोधन गर्ने क्रममा दीर्घकालीन महत्वका प्रदेश गौरवका आयोजना, बहुबर्षे आयोजनाहरुको रकम भारी कटौती गरेर सत्ता भागभण्डामा लागेकोले विज्ञप्ति मार्फत ध्यानाकर्षणा गराउनु परेको हो । संविधानको मर्म र भावनाविपरीत संवैधानिक नियन्त्रण र सन्तुलन, पारदर्शिता, जवाफदेहितालाई धज्जी उडाउदै नियमित चलिरहेको हिउँदे अधिवेशन हतारहतार पौष २५ गते समापन गरेर माघ ६ गते केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० ल्याएर कानुन र विधिको शासनको धज्जी उढाइएको छ । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड (ख) को परिभाषालाई प्रयोजनहीन पार्ने गरी अध्यादेशमार्फत पूर्वमुख्यमन्त्री, सत्ता पक्षका संसदीय दलका नेता र सचेतकहरुलाई गाडी सुबिधा दिने, जनस्वास्थ्य ऐनमा संशोधन गर्दै व्यवस्था विपरीत कार्यकर्तालाई भर्ती गर्ने उद्देश्यले ऐनमा संशोधन गर्ने, केही कर्मचारीको स्वार्थपूर्तीका लागि कर्मचारी ऐनलाई शंसोधन गर्ने जस्ता कार्यले यो सरकार सत्ता टिकाउने नाममा जस्तोसुकै हर्कत गर्न अग्रसर भएको पुष्टी भएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

यस्तै मुख्यमन्त्री कार्कीले पछिल्लो समय दिएका अभिव्यक्तिप्रति पनि एमालेले असन्तुष्टि देखाएको छ । मुख्यमन्त्रीका सार्वजानिक अभिव्यक्तिले मुख्यमन्त्रीको योग्यता र सरकारको हैसियत हदैसम्म गिराएको एमालेको ठहर छ ।

देशको अर्थतन्त्र दिनानुदिन ओरालो लागिरहेको परिस्थितिमा जनताबाट उठाएको करबाट सत्ता साझेदार दलका नेतालाई गाडी सुबिधा दिने कानुन बनाउनुले यो सरकार जनताको समस्याप्रति कति पनि जबाफदेही नभएको र सत्ता टिकाउनमा नै लिप्त रहेको पुष्टि भएको प्रदेश अध्यक्ष खतिवडाको भनाइ छ ।

प्रदेशका मुख्यमन्त्रीले बेलगाम भएर सरकारमा पुर्याउने दललाई समेत बेवास्ता गर्दै पूर्वप्रतिबद्धता विपरीत प्रदेश सरकारको हैसियतलाई गिराउने गरी भएका लापरवाही र गैरजिम्मेवारपूर्ण कार्यप्रति नेकपा एमाले कोशी प्रदेश कमिटी खेद व्यक्त गर्दै एमालेले गलत कार्यहरु तत्काल सच्याउनका लागि ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार