Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गठबन्धनका नेताले सत्ता बाहेक केही देखेनन् : नेता रिजाल



विराटनगर : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले अहिलेको गठबन्धनका नेताहरुले सत्ता बाहेक केही नदेखेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताएका हुन् ।

रिजालले जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरुबाट धेरै आशा गर्न नसकिने बताए ।

उनले अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे । उनले गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य नदेखेको बताए ।

‘मलाई गठबन्धनको बारेमा झगडा त गर्नुछैन । जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर हामी चुनाव जितेका पार्टी हौँ नि त । त्यो भन्दा खराब के होला ? ओनसरी घर्ती भनेको मिनेन्द्र रिजाल हो, मिनेन्द्र रिजाल भनेको घनश्याम भुषाल हो भनेर चुनाव लडेर बनाएको गठबन्धन हो,’ रिजालले भने ।

उनले अगाडि भने, ‘बालुवाटारको बैठकमा बसेर अर्को नेतासँग कुरा मिल्यो भने सत्ताबाट कसैले निकाल्न सक्दैन नि । त्यो भनेको मलाई सत्ता बाहेक बाँकी सत्य छैन । किनभने गठबन्धन बनाएर चुनाव लड्यौँ । प्रधानमन्त्री को हुने थाहा थिएन । निर्वाचन प्रणाली बदल्नै हुँदैन भन्ने कुरा आएको छ । बदल्नैपर्नै कुरा एउटा मात्रै त्यही हो । निर्वाचन प्रणाली नबदलेसम्म गठबन्धन बनिरहन्छ । नारा दिन जानेकै छौँ ।’

नेता रिजालले निर्वाचन प्रणाली बदल्नैपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार