विराटनगर : कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले आर्थिक रूपले देश सबल नभए प्रदेश संरचना धान्न नसक्ने बताएका छन् । कोशी प्रदेशको सभामुखमा निर्वाचित भएसँगै सञ्चारमाध्यमहरूमा बोली फेरिएको भन्ने भ्रम फैलाइएको भन्दै उनले आफूले जनताबाट निर्वाचित हुँदा र सभामुख भइसकेपछिको सिद्धान्तमा परिवर्तन नगरेको बताए ।
‘विचार परिवर्तन गरेको हो कि भन्ने कुरा उठ्छ । म हिजो जुन सिद्धान्तमा रहेको थिएँ । त्यो सिद्धान्तबाट अहिले पनि विचलित भएको छैन । प्रदेश बलियो हुन आर्थिक रूपमा सबल हुनुपर्छ,’ उनले भने ।
उनले आफू सभामुखमा सर्वसम्मत निर्वाचित भइसकेपछि संविधानबमोजिम पदीय दायित्वअनुसार काम गर्ने बताए । प्रदेश बलियो हुन आर्थिक रूपमा सबल हुनुपर्ने उनको भनाइ छ ।
‘देशको अर्थतन्त्र जुन डामाडोल अवस्थामा छ । यसमा तीन तहको सरकार धान्दैन कि भन्ने जुन कुराहरू उठेका छन्, त्यसमा अहिले पनि विचलित भएको छैन । प्रदेश बलियो हुनका लागि आर्थिक रूपले सबल हुँदै आयो भने प्रदेश धान्न सक्छ, नत्र गाह्रो पर्छ,’ उनले भने ।
देशको अवस्था आर्थिक रूपमा मजबुत नरहेकाले प्रदेश संरचना सञ्चालन चुनौतीपूर्ण रहेको विष्टले बताए । अर्थतन्त्र बलियो बनाउन नसके प्रदेश संरचनामा निरन्तर प्रश्न उठ्ने उनको भनाइ छ ।
सभामुख विष्टले संसदीय समितिका सभापतिहरू चयन नभएकाले सभापति चयन गर्ने कुरामा र कानुन निर्माण गर्ने कुरामा आफ्नो बढी ध्यान केन्द्रित हुने बताए । संसदलाई नियमित रूपमा बिजनेस दिन सरकारलाई सजग गराइरहने उनको भनाइ छ । सरकारले स्थायित्व पाए मात्रै विकास निर्माणका काम अघि बढ्न सक्ने उनको भनाइ छ ।