विराटनगर : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले देश गठबन्धनको बन्दी बनिरहेको आरोप लगाएका छन् ।
सोमबार विराटनगरमा प्रेस चौतरी मोरङले २६ औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार वितरण सामारोहमा बोल्दै नेता गौतमले देशको राजनीति गठबन्धनले कब्जा गरेको बताए ।
गठबन्धनका कारण देश अस्तव्यस्त र उकुसमुकुस भएको बताए । सरकारले सुशासनका नाममा विभिन्न खाले सम्झौता गरिरहेको उनको भनाइ छ ।
देश ठूलो आर्थिक संकटमा रहेको बताउँदै गौतमले भने, ‘आर्थिक अवस्था धारासायी छ । गाउँघरमा विकास निर्माणका काम ठप्प छन् । कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्था छ ।’
यस्तै उनले नयाँ आएका दलहरुबाट पनि परिवर्तन सम्भव नभएको बताए । जनताले केही गर्छ कि भनेर विश्वास गरेका रवि लामिछाने काण्डैकाण्डमा फसेको उनले बताए ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव बिक्रम लुईटेलले पत्रकारहरुलाई काममा प्रतिवद्ध हुन सुझाव दिएका छन् । पछिल्लो समय पत्रकारिता क्षेत्रमा समाचार लेख्नेभन्दा पनि नेतागिरी गर्नेको संख्या बढिरहेको बताउँदै लुईटेलले श्रमजिवी पत्रकारहरु जागरुक भएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, एमाले नेता विनोद ढकाल, पत्रकार महासंघ कोशीका महासचिव विवेक गौतम लगायतको उपस्थिति रहेको थियो ।