विराटनगर : नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्वाङ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
अचानक बिरामी भएपछि उनलाई ताप्लेजुङबाट हेलिकोप्टरमार्फत काठमाडौं लगेर थप उपचार सुरु गरिएको छ । नेम्वाङलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।
एमाले ताप्लेजुङ जिल्ला कमिटीको बैठकमा सहभागी हुन जाने क्रममा होटलमा बसिरहेको बेला उठ्न लाग्दा नेम्वाङ बिरामी भएर ढलेका थिए ।
उच्च रक्तचापका कारण अचानक स्वास्थ्यमा समस्या आएपछि नेम्वाङलाई तमोर अस्पतालमा सामान्य परीक्षणपछि ताप्लेजुङ जिल्ला अस्पताल लगिएको थियो । तर, चिकित्सकहरूले थप उपचारका लागि काठमाडौं लैजान सुझाव दिएपछि उनलाई काठमाडौँ लगिएको हो ।
एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेका अनुसार बुधबार दिउँसो ४ बजे हेलिकोप्टरबाट उनलाई काठमाडौँ लगिएको हो ।
अस्पताल स्रोतका अनुसार उनको दाहिने हात खुट्टा चलेको छैन् । नेम्वाङले देब्रे खुट्टा हात चलाएपनि अहिलेसम्म कसैसँग कुरा नगरेको पारिवारिक स्रोतले जनाएको छ ।