Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा राष्ट्रिय सभाको रौनकः नेताहरुको ओइरो



विराटनगर विमानस्थलमा एमाले र कांग्रेसका नेताहरु

विराटनगर : बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनको प्रचारप्रसार अवधि सकिएपनि कोशी प्रदेशको चुनावी रौनक भने बढेको छ । नेकपा एमाले र राप्रपाको गठबन्धनबाट सशंकित बनेका सत्तारुढ गठबन्धनका नेताहरु विभिन्न कार्यक्रमका नाममा विराटनगर आएका छन् ।

राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनभन्दा विपक्षी गठबन्धनको मत करिब ८ सय कम छ । तर, पनि सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला भने सशंकित देखिएका छन् ।

कांग्रेसका शिर्ष नेतामा पर्ने सिटौलाको भोट नचुहियोस भनेर महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापालगायतका थुप्रै केन्द्रीय नेताहरु विराटनगर आएका छन । कांग्रेसका नेता डा. शेखर कोइराला र दर्जनौँ कन्द्रीय सदस्य विराटनगर ओइरिएका छन् ।

कांग्रेसको विद्रोहले सरकार बनेको हुनाले पनि मतदाताले मत क्रस गर्छन कि भन्ने डर कांग्रेसलाई छ ।

कांग्रेसका नेताहरु पनि अन्य गठबन्धनभन्दा बाहेकका पार्टीको मत तिर ध्यान दिन थालेका छन् । उनीहरुको कोठे बैठक दिनहूँ भइरहेको कांग्रेसका एक जना केन्द्रीय सदस्यले बताए ।

कोशी प्रदेशमा दुई वटा सिटका लागि चुनाव हुने भएपनि सिटौलाको कलष्टर भने बढी ध्यान केन्द्रित हुनेमा परेको छ ।

यता, विपक्षी गठबन्धन नेकपा एमाले र राप्रपा कोशी प्रदेशमा सरप्राइज दिन सकिन्छ कि भन्ने आशामा छन् । एमालेका महासचिव शंकर पोखरेललगायतका नेताहरु पनि विराटनगर आएका छन् ।

कोशीबाट प्रतिनिधित्व गर्ने केही स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरु विराटनगर केन्द्रित भएका छन् । एमाले अध्यक्ष केपी ओली आउने भने पनि उनी अन्तिम समयमा आएनन् ।

यता, राप्रपाले पनि आफ्ना नेताहरुलाई विराटनगरमै केन्द्र बनाएर परिचालन गरेको छ । राप्रपाका पुराना नेता उद्धव पौडेल पनि आफ्ना सहयोगी लिएर मतदातामा पुगेका छन् ।

बिहीबारको चुनावको सन्दर्भलाई लिएर मंगलबारदेखिनै एमालेले सबै प्रदेश सांसदलाई विराटनगर केन्द्रित गरेको छ । एमालेका स्थानीय तहका सबै जनप्रतिनिधिहरु मंगलबार बेलुकादेखि नै विराटनगर आउन थालेका छन् ।

कांग्रेसका जनप्रतिनिधिहरु पनि विराटनगरका होटल र आफन्तकोमा तिन चार दिनदेखि नै निरन्तर बसिरहेका छन् । कोशी प्रदेशका प्राय जसो जिल्ला पुगेर मत मागेका सिटौला अहिले विराटनगरमै छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार