विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशीका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले ५ वर्ष बेनामे भएको प्रदेशलाई नामकरण गर्नु महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
बुधबार प्रदेशसभाको विशेष समयमा संसदीय दलको तर्फबाट बोल्दै सिटौलाले नामकरणसँग असन्तुष्ट राख्ने पक्षलाई लक्षित गर्दै पहिचान खोज्ने विषय नभई दिने कुरा भएको बताए ।
उनले भने, ‘पहिचान खोज्ने विषय होइन । दिने कुरा हो । आफूले आफ्नो पहिचान आफै बनाउने हो ।’
उनले प्रदेशमा आन्दोलन गरिरहेको पक्षलाई सभ्य भएर गर्न आग्रह गरेका छन् । प्रदेशलाई समृद्ध बनाउन सबै दलहरू आवश्यकता अनुसार एकजुट हुनुपर्ने बताउँदै उनलेे राप्रपा प्रदेश र जनतालाई फाइदा हुने काममा कहिल्यै बाधक नबन्ने बताए ।
यस्तै उनले आफ्नो पार्टी प्रदेश खारेजीको पक्षमा भएकाले सडक र सत्ताबाट आन्दोलन अघि बढाउने बताए ।